म र मेरो कलम

डेढ दशक अगाडी विदेशतिर हुइकिदा यी हातहरुले कलम समातेर श्रृजना गर्न सकिएला भन्ने सयमा एक प्रतिशत पनि सोचिएको थिएन । सोचियास् पनि कसरी परदेशमा पाईला टेकि सकेपछि जे पर्ला सोही टर्ला भन्ने मानसिकता वोकेर हिडिएको हुन्छ । फेरि साहित्य श्रृजना जस्तो कुरा चानचुने विषय पनि त होइन । त्यसैले कहिले काही आकाशको फल आखा तरी मर भन्ने उखान सो सरह होला जस्तो लाग्थ्यो साहित्य निर्माण कुरा । किनभने साहित्य जन्माउनको लागि समय,परिस्थिति र त्यस्तै खाले महौलकेा आश्यकता पर्दछ । केहि कथम यी कुराहरु मिल्न गए पनि मानसिक रुपले तयार हुन सकिएन भने त्यो वालुवाको महल ठड्याउनु वरावर नै हुन्छ । अर्कोकुरा के भने परम्परा, संस्कार, रीति ,तिथि, भाषा, भेष-भुषा र दिनचार्याले पनि लेखनमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले तुरुन्तै कलम समाई हाल्न कठिनाई पर्दछ । आदि इत्यादि क्षणहरुसंग घुलमेल हुनुमा नै समय त्यसै खर्चिनु पर्छ । यिनै वास्तविक कारणहरुले गर्दा साहित्य श्रृजनाको आशा गर्नु झन ल्हासाको सुन वरावरी ठहरीन्छ । श्रृजना गर्नको लागि हरेक कुराको चाजो पाजो मिल्नु जरुरी हुन्छ अनि मात्र परदेशमा लेख्नुको मेलोमेसो तयार हुदै जाने कुरा हो । यस्तो प्रकारको परिस्थिति व्यहोरी रहनु हुने लेखक तथा पाठकवृन्दहरुलाई र्सवविदतै भएको हुनुपर्दछ । हङकङ नगरी टेकिन्जेल सम्ममा झण्डै कलमसंगको मितेरी साइनो दन्त्यकथामा परीणत हुन लागेको थियो । तर यहां त मैले सोचे भन्दा ठिक विपरीत साहित्यको सागरमा पौडिने थुप्रै कलमकर्मीहरु पो हुनुहुदो रहेछ । उक्त यथार्थ थाहा पाएपछि सुकिसकेको घांटीमा पानीले भिजाएर जस्तै भयो । अनि धन्य सम्झे र भाग्यशाबली पनि किनकि वथान हराएको प्रणीले धेरै दिनपछि आफ्नो वथान संग भेटे झैं महसुस भयो । यदि यस्तो समय मैले नपाएको भए भर्भराउदो मेरो श्रृजनाको कलम उहिल्यै खडेरीले मरीसक्थ्यो । तर त्यसो हुन पाएन हङकङको साहित्यिक माहौलले गर्दा । साथै यहा रहनु भएका साहित्यकार साथीहरुको हातेमालो, पाठक तथा शुभ चिन्तहहरुको सदासयताले गर्दा देशवाट पलायन भएपनि लेखनवाट पलायन हुन सकिएन । वरु म मा झन मादकता भरिएर अगाडी वढ्ने हौसला मिल्यो । नेपाली भाषा र वाङमयसंग परिचय भएको पनि थाहा नपाइ झण्डै दुइ दशक पो चिप्लिएछ । अस्ति पुरानो डायरीको पानामा लेखिएका मितिले चिथोर्दा मात्र पो झस्किएं । सम्झन्छु धरानमा अध्ययन गर्दाका क्षण । त्यस नगरीमा म अत्यन्तै लगनशील थिएं जस्तो लाग्छ नदीको प्रवाह जस्तै । त्यस वेलाको मेरो रफ्तार निरन्तर अहिले सम्म नछोडेको भए वर्तमानको म भन्दा अर्को राम्रो म भै सक्थें । तर भाग्य पर्यो देव्रे तिर । लक्ष्य मोडेर हाकिनु पर्यो अर्को गोलार्द्धमा, अनि साहित्य श्रृजनाको दुनियालाई चटक्कै छोडेर परिश्रमको नीलो सागरमा घचेटिनु पर्यो नचाहदा नचाहदै । कहिलेकहि निस्सासिएको क्षणमा सोच्ने गर्थे वैशको वेला लेख्ने वैशालु कवि मात्र भइएछ जिन्दगीमा । यसो नसोचिओस् पनि किन कलम थन्काएर वाच्नुको खोले फाडो जुटाउनमा नै समय वित्दै गए पछि मनमा उराठ उराठ लाग्न वाहेक के हुन्छ होला र- पीडालाई भुल्न कल्पनाको सहारा लिन नै त्यो समयको खाली ठाउ भर्ने उत्तम वनि दिन्छ । दिमाग भरी नौला श्रृजनाका कुराहरु भरीएर आउथ्यो तव अक्षरहरुमा कति उनौ लाग्थ्यो तर कपी कलम हातमा भए पो लेखिन्थ्यो आखिर त्यसै पोखिएर जान्थ्यो । तर समय सधै एकै प्रकारको मात्र हुदैन । कोल्टे पाल्टे समयले पर्दा नसोचिएको ठाउमा अचानक श्रृजनाको कलम संग जम्काभेट हुदा मरुभूमिको यात्रामा तिर्खाएको यात्रीले एक गिलास पानी पिउन पाए झैं भयो मलाई । सायद तिनै कारणहरुले गर्दा मेरो लेखनको खडेरीमा हरियाली पलाउदै गयो क्रमश । मैले हङकङमा पनि सानो नेपाल पाएं । त्यति मात्र नभएर सहकर्मी,पाठक, शुभचिन्तक सवै सवै हुनुहुन्छ यहा । त्यसैले त अक्षरहरु जोड्न मन लाग्छ । कलमवाट अक्षरहरुमा छरीएर जीवन वाचु झैं लाग्छ । परदेशमा पनि घरदेशको जस्तै आफ्नै भाषा साहित्यको श्रीवृद्धिमा सेवा गर्न पाउदा कता हो कता आफुलाई भाग्यशाली ठान्छु । किनभने आफ्नै वाङमयको सागरमा निश्चिन्त पौडिन मौका पाइरहेकोछु । आजभोलि मलाई के लागिरहेछ भने साहित्य श्रृजना गर्नको लागि अनुकुल समय आफैले निर्माण गर्नुपर्दोरहेछ । किनकि साहित्य जोड्न कै लागि भनेर फुर्सदी समय कहा काहा कस्को पो छ र - "जहां इच्छा त्यहां उपाय" भने झैं यदि चाहायो भने समय नमिल्ने कुरै भएन । यी मेरा जति पनि सृजनाहरु छन् ती सवै फुर्सदका उपज होइनन् । जीवन वाच्नु लर्डाईमा वाचे खुचेका अति मूल्यवान समयहरु हुन् । हुन त परदेशमा साहित्य जोडिन थालिएको उहिलेदेखि नै हो सायद परदेश प्रताडिएर लेख्ने अग्रजहरुले पनि मेरै हालत गुजारेको हुनु पदर्छ । जस्तो सुकै परिस्थिति व्यहोर्नु परे पनि आज नेपाली साहित्यले हङकङ लगायत विश्वको कुना कुनामा आफ्नो पखेटा फिजाई सकेकोछ । निश्चय नै यो हामी नेपाली भाषीकोलागि सुखद पक्ष हो । तर यति हुदाहुदै पनि परदेशमा जन्मे हुर्केर वढेका नया नेपाली पीडिहरुमा भाषाको लगाव कमजोरी हुदै आएको पाइन्छ । जस्ले गर्दा भोलि गएर हाम्रा सन्ततीहरुमा भाषाको प्रेम शुन्य भएर जान वेर लाग्दैन । नया पिडीकाले नेपाली भाषा वोली हाले पनि अंग्रेजी मिश्रण गरेर वाल्ने गरेको पाइन्छ । हंगकंग रहनु हुने अभिभावक वर्गले समयमा नै त्यतातिर ध्यान नदिए भोलि देश प्रेम र दायित्व उनीहरुमा स्वत घटेर जान्छ । भाषा साहित्य वचाउनको लागि सोही भाषी नै आन्दोलित हुनु जरुरी हुन्छ ।अरु भाषीले प्रोत्साहन दिदैमा त्यो भाषा मौलिन सक्दैन । यिनै यथार्थतालाई मनन गर्दै सातवर्षपहिले नेपाली साहित्यको उत्थान गर्नको लागि नेपाली साहित्य प्रतिष्ठान खडा गरेका हौं हङकङमा वस्दै आएका साहित्यकारहरु मिलेर । आजपनि यसले आफ्नो धर्म छोडेको छैन । अहिले सोहि प्रकृतिका अन्य संस्थाहरु पनि साहित्यलाई उर्वर गराउन लागि परेकाछन् । तर भन्नै पर्ने कुरो के भने साहित्य लेखेर मात्र हुदैन उचित परिस्कार र त्यसको विकास गर्न ज्यादैआवश्यक हुन्छ । र समय समयमा क्रिया अन्तरक्रिया साथै गोष्ठिहरु पनि हुनु जरुरी छ । हङकङ आएर धन्य कलमलाई वेल्चामा परिणत गरिनछु नत्र भने कहां यसरी शव्दहरुसंग खेल्न पाइन्थ्यो र - अव त जीवनको एउटा पाटो नै वनि सक्यो । वांच्नुको साथर्कता म त त्यतै देख्छु आज भोलि । वरु मेरो कलमवाट कस्तो कस्तो रचनाहरु पाठकहरुको सामु पस्कन सके त्यो चाहि शुभ चिन्तक तथा पाठक वर्गलाइ नै सोधानी गनु पर्ला । जे होस हङकङमा नेपाली साहित्यको प्रवाह ज्यादै उर्वर रुपले वढ्दै गएको पाएकोछु ।

No comments: